Banner
Banner

केही समय अघिसम्म विभिन्न युरोपेली मुलुक वा अमेरिका वा भन्नै पर्दा विश्वभर नै नेपाल भन्ने राष्ट्रको बारेमा निकै कम आमजनतालाई कुनै प्रकारको ज्ञान थियो। विश्वका कतिपय मुलुकका मानिसलाई त नेपाल भन्ने देश छ भन्ने पनि थाहा थिएन।

युरोपमा नेपाललाई चिनाउन खोज्दा कतिपयले इटालीको नेपल्स भन्ने शहर भनि ठान्दा रहेछन्। हिमालयको काखमा भारत र चीनको बीचमा पर्ने माउन्ट एभरेस्टको देश भने पछि छक्क परेर ओहो, त्यस्तो नामको देश पनि रहेछ भन्थे।

आफ्नो देशको पहिचान गराउने विभिन्न प्रकारका चिनारीहरू हुन्छन्। हाम्रो देशलाई चिनाउने पहिलो चिनारी त हिमालय र सगरमाथा नै भए। त्यस्तै विश्व विख्यात साहसी र बलिया गोर्खा सैनिकहरूको देश भने पछि पनि हामीलाई धेरैले चिन्दछन्।

नेपालको पहिचान दिलाउनमा सगरमाथाको पहिलो पटक आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको पनि ठूलो योगदान छ। हिलारीले त सगरमाथाको आरोहण पश्चात् आफ्नो दोस्रो घर नै नेपाल भए जसरी नै नेपालमा बारम्बार आएर सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा पुर्वाधारका धेरै कार्यहरू समेत गर्नु भएको थियो।

उहाँकै कारण नेपाललाई विश्वका धेरै पर्वतारोही, शोधकर्ता र विद्वत वर्गले चिनेर नेपाल भ्रमणमा आउन थालेका हुन्। त्यस्तै संयुक्त राष्ट्रसंघको विशेषज्ञको रूपमा सन् १९५०को दशकमा नेपाल आएर नेपालको सम्पूर्ण भूभागको पैदल यात्रा गर्नुभएका टोनी हेगनले नेपाल बारेका थुप्रै पुस्तकहरू लेख्नु भएको थियो।

उहाँको ‘नेपाल’ नामक सचित्र पुस्तक विश्व विख्यात भएको थियो। उहाँले पनि नेपाललाई आफ्नो दोस्रो घरको संज्ञा दिनु भएको थियो आफ्नी विद्वान छोरी समेत लिएर धेरै पटक नेपाल आउनु भएको थियो।

हिलारी र हेगनले बाहेक नेपालमा आएर काम गरेका थुप्रै विशेषज्ञ र अमेरिकी पिस कप्र्स तथा अन्य मुलुकका दातृ निकाय तथा स्वयम्सेवक संस्थाका प्रतिनिधिहरूले पनि आफ्नो कामको सिलसिलामा नेपालमा बस्दाका अनुभवका आधारमा नेपाल प्राकृतिक रूपले अति नै रमणीय र सांस्कृतिक रूपले ज्यादै धनी मुलुक भएकोले यो मुलुकको गुणगानमा धेरै पुस्तकहरू लेखेर नेपालको सही पहिचान विश्व सामु दिएका छन् र यो सिलसिला अझै पनि जारी छ।

अमेरिका र वेष्ट इन्डिज दुवै देशमा भएको क्रिकेट टुर्नामेन्टमा दर्शकदीर्घामा नेपाली टिमको पोशाक लगाएर नेपाली झण्डा फहराउँदै गरेका विशाल संख्याका नेपाली खेलका समर्थक नेपाली डायस्पोरा र नेपालदेखि त्यहाँ पुगेका खेलप्रेमीहरूको संयमतापूर्ण क्रियाकलाप र उत्साहका साथै खेलाडीहरूको हौसला बढाउन उनीहरूले निकालेका जयजयकारका ध्वनीले टेलिभिजनका प्रत्यक्ष प्रसारण प्रस्तोताहरूले पनि तारिफ गरेका थिए।

आर्थिक रूपले नेपाल एक ज्यादै विपन्न मुलुक भए पनि यहाँको विशाल प्राकृतिक सौन्दर्य र शान्ति सुरक्षाको प्रत्याभूतिदेखि तुलनात्मक रूपमा सबै वस्तु र सेवा सस्तो र सुलभतापूर्वक उपलब्ध हुने कारणले गर्दा विकसित मुलुकका कुटनीतिज्ञहरू नेपालमा राजदूत र अन्य उच्च कुटनीतिक पदमा नियुक्त हुन लालायित हुने गर्दछन्।

आफ्नो पदावधिको दौरान उनीहरूले नेपालका विभिन्न आकर्षक स्थलहरूको भ्रमण र पदयात्रा गर्ने तथा पछि पछि पनि बरोबर नेपालको भ्रमण गरेर लेख र पुस्तक मार्फत आफ्नो यात्रानुभव प्रकाशन गर्ने गर्नाले उनिहरूको नेपाल प्रतिको माया र आकर्षणको पुष्टि हुन्छ।

नेपालको भौगोलिक वनोट, विश्वको सर्वोच्च टाकुरादेखि करिव करिव समुद्रको सतहसम्मको उचाइमा रहेका पर्वत र समथर क्षेत्र, वन-जंगल र विभिन्न प्रकारका वनस्पती, जीवजन्तु तथा चराचुरुंगी र वृहत् कला, भाषा र संस्कृति अनि ज्यादै सत्कारशील र हँसिला र मद्दतगार मानिसहरूले गर्दा नेपालको भ्रमण गर्न चाहने विदेशीहरूको संख्या ज्यादै नै धेरै छ भने नेपाललाई यी माथि उल्लेखित सबै कारणले गर्दा विश्वमा धेरै मानिसहरूले एक भ्रमणयोग्य मुलुकको रूपमा चिनेका छन्।

हो, हाम्रो देशको दूर्नाम गर्ने व्यक्ति र संस्था पनि नभएका होइनन्। नेपाल एक ज्यादै भ्रष्ट, अराजकताले भरिपूर्ण मुलुकको रूपमा पनि चर्चित हुँदै गएको छ।

विश्वका विभिन्न भागमा हुने महत्वपूर्ण सभा तथा सम्मेलनमा जाँदा विभिन्न प्रकारले बेइज्जतीपूर्ण हर्कत गर्ने कतिपय अधिकारीहरू, नेपालको प्रतिनिधित्व गरेर राजदूत भएका कतिपय व्यक्तिहरूका खराव आचरण र गैरकुटनीतिक चालचलन र विभिन्न मुलुकमा कामको सिलसिलामा गएका कैयन् मानिसहरूका खराब तथा आपराधिक चालचलनले गर्दा पनि नेपाल बदनाम छ विश्वभर।

त्यस्तै एथलेटिक्सको म्याराथुनमा भाग लिँदा लिँदै भागेर बेपत्ता हुने धावक, गीत–संगीतको कार्यक्रममा गएका कलाकारको अनाधिकृत पलायन र विभिन्न हत्या तथा तस्करीमा मुछिएर विदेशमा पक्राउ परेका नेपालीका कारण पनि हाम्रो शिर बेला बेलामा झुकेकै छ। तर नेपालको ख्यातीको अनुपातमा बदनामी नगण्य छ र त्यस्ता बदनामीपूर्ण क्रियाकलापलाई अझै कम गर्न विशेष पहल गर्नु जरुरी छ।

राणाशासनको बेलासम्म दरवारमा सीमित नेपालको खेलकुदको विकास २००७ साल पछि भने बिस्तारै हुँदै गएको हो। फुटबल, व्याडमिन्टन, टेबुल टेनिस, एथलेटिक्स, भलिबल आदि खेलकुदले शुरुदेखि नै प्रसिद्धी कमाएको भए पनि पछिल्लो समयमा आएर नेपाली खेलाडीहरूले मार्सल आर्टका विभिन्न विधाहरू जस्तै जुडो, कराते, टाइक्वान्डो, किक बक्सिङ, उषु, बक्सिङ, कुस्ती र अन्य खेलहरू जस्तै पौडी, फुटबल, गल्फ आदिमा पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा ख्याती कमाउन थालेका हुन्।

तर विगत केही दशक अघिदेखि भने आर्थिक रूपले ज्यादै विपन्नता र पूर्वाधारको चरम खडेरी हुँदा हुँदै पनि नेपाली क्रिकेट खेलाडीहरूको अथक मेहनत र क्रिकेट संघ र योसँग आवद्ध संस्था र कोचहरूको अथाह परिश्रमले गर्दा नेपाल बिस्तारै क्रिकेटको दुनियामा एक चिर परिचित मुलुक बन्दै गएको छ।

नेपाली खेलाडी टोलीमा मुलुकभरलाई प्रतिनिधित्व गर्ने शुशिक्षित युवाहरू छन्। नेपाल भन्दा पहिले दक्षिण एशियाका बंगलादेश र अफगानिस्तानले पनि निकै पछि कडा मेहनत पश्चात् क्रिकेटको विश्वकप खेल्ने अवसर पाएका हुन्।

क्रिकेटको मुख्य पूर्वाधार भनेर चिनिने राम्रा मैदान नेपालमा अझै पनि छैनन्। तर बिस्तारै राजधानीको कीर्तिपुर, गोकर्ण र मुलुकका अन्य भागमा पनि क्रिकेट मैदान र एकेडेमीको निर्माण हुने क्रम बढ्दै छ। चितवनमा निर्माणाधीन विश्वस्तरको गौतमबुद्ध क्रिकेट मैदानको काम पनि जोडतोडका साथ भइरहेको छ।

यस्ता पूर्वाधारहरू निर्माणमा विशेष योगदान दिने कलाकार, विशिष्ट व्यक्तित्वहरू, पालिका तथा तिनका मेयर र अन्य पदाधिकारी र सम्पूर्ण दातृ निकायहरू धन्यबादका पात्र छन्।

योभन्दा अघिको विश्वकपमा पनि खेल्ने मौका पाएको नेपाली टोलीले यस पटक संयुक्त राज्य अमेरिकामा र वेष्ट इन्डिजमा कुनै पनि खेलमा विजय हासिल गर्न सकेन। तर दक्षिण अफ्रिका जस्तो विश्वको निकै अग्रणी टिमसँगको खेलमा ज्यादै उत्कृष्ट प्रदर्शन गरेर एक रनले मात्र पराजित भएको नेपालसँग हाल आएर विश्वभरका टिमहरू सशंकित भएका छन्।

यसपालीको टी-२० विश्वकपमा तिन वटै खेलमा पराजय भोग्नु परेको भए पनि नेपालले विश्वमा ठूलो नाम कमाउन सफल भएको छ। यसो हुनुमा नेपालको उत्कृष्ट खेल प्रदर्शन र विश्वभर अर्बौं मानिसले सिधा प्रसारणमार्फत क्रिकेट खेलको अवलोकन गर्ने भएकोले नेपाल देशको नाम समेत नसुनेका मानिसहरूले पनि आज आएर नेपाललाई चिन्ने मौका पाए।

नेपाली टोलीको निलो क्रिकेट पहिरन पनि धेरैले मन पराएका थिए भने विश्वमा नै एक मात्र दुई वटा त्रिभुज भएको चन्द्र-सूर्य अंकित झण्डाले धेरैलाई आकर्षण गराएको थियो।

अमेरिका र वेष्ट इन्डिज दुवै देशमा भएको क्रिकेट टुर्नामेन्टमा दर्शकदीर्घामा नेपाली टिमको पोशाक लगाएर नेपाली झण्डा फहराउँदै गरेका विशाल संख्याका नेपाली खेलका समर्थक नेपाली डायस्पोरा र नेपालदेखि त्यहाँ पुगेका खेलप्रेमीहरूको संयमतापूर्ण क्रियाकलाप र उत्साहका साथै खेलाडीहरूको हौसला बढाउन उनीहरूले निकालेका जयजयकारका ध्वनीले टेलिभिजनका प्रत्यक्ष प्रसारण प्रस्तोताहरूले पनि तारिफ गरेका थिए।

खेलमा नेपाली टोलीले हार व्यहोर्दा समेत नेपाली दर्शकहरूले अनुशासित र संयमतापूर्वक नै आफ्नो व्यवहारको प्रदर्शन गरेका थिए। सय थुंगा फुलका हामी नेपालीका सबै प्रकारका मुहारहरू त्यहाँ उपस्थित थिए, जुन अन्य मुलुकका समर्थकहरूमा पाइँदैनथ्यो। यसरी नेपालमा विविध प्रकारका जनता रहेको कुरा पनि विश्वले थाहा पाउने अवसर पायो।

दक्षिण अफ्रिकासँगको प्रतिष्पर्धाको सिधा प्रसारण नेपालका प्रधानमन्त्रीले समेत नेपाली टोलीको जर्सी लगाएर हेरेको दृश्यले मनमा निकै खुशी जागेको थियो। आफ्नो मुलुकका खेलाडीहरूको हौसला बढाउनु सबैको कर्तव्य हुन जान्छ।

सरकारले हालै विश्वकप खेल्ने प्रत्येक खेलाडीले जनही १३ लाख रुपैयाँ पाउने घोषणा गरेको कुरा निकै सह्राहनीय छ। तर सो रकम अविलम्ब सम्बन्धित खेलाडीको हातमा पारेको हेर्न पनि नेपाली जनताले ब्यग्रताका साथ इन्तजार गरिरहेका छन्।

केही समय अघि नेपालका होनाहार खेलाडी सन्दिप लामिछानेलाई नराम्रा आरोप लगाएर थुनिनु तथा उनको मात्र नभई पुरै क्रिकेट टोलीको मनोबल गिराउने काम हुनुलाई सहज रूपमा लिन मिल्दैन।

यो घटना एक नारीले मात्र घटाएको नभई उनलाई उक्साएर भर्भराउँदो नेपाली क्रिकेटको भविश्यलाई नै सक्काउने दुस्साहस गर्ने कुनै गिरोहको हुन सक्ने कुरामा पनि विचार पुर्‍याउनु पर्दछ।

तर लामिछानेलाई अदालतले न्याय दिएको भए पनि एउटा महत्वपूर्ण जिम्मेवारी पाएको व्यक्तिले यस्ता जञ्जालमा फँसिने कार्य अब कहिल्यै गर्नु वा दोहोर्‍याउनु हुँदैन र अन्य प्रख्यात व्यक्तित्व र सबै नेपालीले समेत यो कुरालाई विशेष ध्यान दिएर पालना गर्नु पर्दछ।

खेलकुदले मुलुकको स्वास्थ्य समेत तन्दुरुस्त राख्ने भएकोले खेलकुदको विकासमा खर्च गर्न सरकारले हिच्किचाउनु हुँदैन भने साना ठूला सबै सार्वजनिक र निजी व्यवसायहरूले आफ्नो आम्दानीको आधारमा केही खेलाडीहरूलाई आफ्नो सामाजिक उत्तरदायित्वकै रूपमा नियमित जागीर दिलाएर सदा खेलकुद कै अभ्यासमा पठाउनु पर्दछ।

 

-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्। 

डिसीनेपाल